FAQs Complain Problems

दमक नगरपालिका सम्मानित

विश्व बैंकको ऋण सहयोग तथा नेपाल शहरी शासकीय पूर्वाधार आयोजना, बबरमहल, काठमाडौंको समन्वयमा नेपालभरका विभिन्न पालिकाहरु मध्ये दमक नगरपालिका अन्तर्गत हाल सञ्चालनमा रहेको "मदनडाँगी - ताराबारी - डिपु सडक स्तरोन्नति आयोजना" को गत आ.व. मा भौतिक प्रगति सबैभन्दा उच्च भई दमक नगरपालिका सम्मानित भएको छ ।

नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाद्वारा मिति २०८१ भाद्र १३ गते काठमाडौंमा आयोजित समीक्षा गोष्ठीमा विश्व बैंकबाट पाल्नुहुने महानुभावहरु तथा अन्य विशिष्ठ व्यक्तित्वहरुको उपस्थितिमा नेपाल सरकार, शहरी विकास मन्त्रालयका सचिव श्री मणिराम गेलालज्यू मार्फत दमक नगरपालिकाका तर्फबाट नगर प्रमुख श्री राम कुमार थापाज्यूले प्रशंसा पत्र प्राप्त गर्नुभएको छ ।
कार्यक्रममा वक्ताहरुले यस नगरपालिका अन्तर्गत सञ्चालित उक्त आयोजना व्यवस्थित एवम् प्रशंसायोग्य रहेको, गुणस्तरीय कार्य भएको तथा आयोजनाले पूरा गर्नुपर्ने वातावरणीय प्रभाव सम्बन्धी कार्यहरु प्रभावकारी रुपमा सम्पादन गरिरहेको बताउनुभयो ।

करिब ५० करोड लगानीमा सञ्चालनमा रहेको उक्त आयोजनाको हालसम्मको कार्यप्रगति ५० प्रतिशत नाघिसकेको छ भने Manually गर्नुपर्ने कार्यहरु लगभग सकिइसकेको र मेशिनरीबाट गर्नुपर्ने कार्यहरु मात्र बाँकी रहेको हुँदा भौतिक प्रगतिमा थप तीव्रता आउने अपेक्षा गरिएको छ ।

उक्त आयोजनालाई सफल रुपमा सञ्चालन गर्नका लागि सल्लाह सुझाव प्रदान गर्नुहुने तथा नियमित रुपमा सुपरीवेक्षण, निरीक्षण तथा खबरदारी गरी सहयोग पुर्याइरहनु भएका स्थानीयवासीहरु तथा उपभोक्ताहरु, निर्माण व्यवसायी, परामर्शदाता, गुनासो निदान समिति, आयोजना सञ्चालन सहजीकरण समिति, समन्वयकारी भूमिका निर्वाह गर्ने संघसंस्थाहरु, प्राविधिक कर्मचारीहरु लगायतका सम्पूर्ण सरोकारवाला महानुभावहरु प्रति दमक नगरपालिका हार्दिक कृतज्ञता ज्ञापन गर्दछ ।

आगामी दिनहरुमा समेत रचनात्मक सुझावहरु तथा निरन्तर समन्वय एवम् सहयोगको अपेक्षा गरेका छौँ ।