अपडेट
दमक नगर क्षेत्रभित्रका तारहरु व्यवस्थापन गर्ने सम्बन्धमा गरिएको पत्राचार
दमक नगर क्षेत्रभित्रका तारहरु व्यवस्थापन गर्ने सम्बन्धमा गरिएको पत्राचार
मितिः २०८३/०५/०४
विषयः अबिलम्ब रुपमा तार व्यवस्थापन गर्नुहुन ।
श्री नेपाल विद्युत प्राधिकरण,
दमक वितरण केन्द्र, दमक, झापा ।
श्री दुरसञ्चार कार्यालय दमक,
दमक, झापा ।
प्रस्तुत विषयमा दमक नगर क्षेत्रलाई सुन्दर, आधुनिक र व्यवस्थित शहरका रुपमा विकास गर्दै लैजाने यस नगरपालिकाको लक्ष्य हासिल गर्नका लागि नगरपालिकाले विभिन्न कार्यहरु गर्दै आएको छ । सो सन्दर्भमा, तारहरु सडकको वारपार भई शहरको सौन्दर्य तथा आवागमन समेतमा असर नपरोस् भन्ने हेतुले विगत वर्षमा नेपाल विद्युत प्राधिकरणसँगको समन्वयमा नगरभित्रका सडकहरुको दायाँ बायाँ दुवैतर्फ पोल गाड्ने काम भई सो पोलहरुमा विद्युतका तारहरु, टेलिकम तथा इन्टरनेट सेवा प्रदायकहरुको तार जोड्न सक्ने गरी व्यवस्था समेत गरिएकोमा, नगरपालिकाको सुन्दर शहर निर्माणको लक्ष्यलाई प्रतिकूल असर गर्ने गरी, पटकपटक सूचना प्रकाशन गर्दा तथा पत्राचार गर्दा समेत, हालसम्म पनि सडकको वारपार हुनेगरी तारहरु टाँगिएको अवस्थामै रहेकोमा यस किसिमको असमन्वय, नगरपालिकाको निर्णयको उपेक्षा तथा अवज्ञाका सम्बन्धमा दमक नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको कारण यो पत्र लेख्ने कार्य भएको छ ।
तसर्थ, अव्यवस्थित तारहरुबाट पैदा भएका/हुने समस्याहरु अबिलम्ब रुपमा समाधान गर्नका लागि तपसिल बमोजिम हुनेगरी गर्नु गराउनु हुन जानकारी गराइन्छ ।
१) मिति २०८३ भाद्र २० गते विगत वर्षहरुमा झैँ श्रीकृष्ण रथयात्रा प्रारम्भ हुने भएको छ । सो को रुट दमक ७ स्थित राधाकृष्ण मन्दिर बाट प्रारम्भ भई त्यहाँबाट दक्षिण हनुमान मन्दिर हुँदै लेखनाथ चोकबाट पश्चिम इ.प्र.का. दमक हुँदै जेशिस चोक र सो बाट उत्तर देवकोटा चोक हुँदै शङ्खधर चोक सम्म र शङ्खधर चोकबाट पश्चिम भृकुटी चोक हुँदै सो बाट उत्तर भानु चोक हुँदै फाल्गुनन्द चोक हुँदै दमक नगरपालिकाको कार्यालय अगाडिबाट राधाकृष्ण मन्दिर पुग्ने भएको हुँदा सो स्थानहरुमा पर्ने बाटोको वारपार गरी टाँगिएका तारहरु मिति २०८३ भाद्र ७ गतेभित्र विगत वर्षमा सडकको दायाँबायाँ गाडिएका पोलहरुमा जोड्ने गरी व्यवस्थापन गर्नुहुन ।
२) सो मितिभित्र पनि तारहरु व्यवस्थित भइनसकेमा यस नगरपालिकाले नै मिति २०८३ भाद्र ८ गतेदेखि उक्त तारहरु हटाउने व्यहोरा जानकारी गराउँदै यसबाट उत्पन्न हुनसक्ने भौतिक/वित्तीय क्षति तहाँ कार्यालयहरुले नै व्यहोर्नुपर्ने छ ।
३) उल्लेखित स्थानहरु बाहेकका स्थानहरुको तारहरु समेत निर्धारित पोलहरुमा व्यवस्थापन गर्ने कार्यलाई प्राथमिकता दिई अबिलम्ब रुपमा कार्य सम्पन्न गर्नुहुन ।
नगरपालिका सदैव समन्वय, सहकार्य र आपसी एकताबाट मात्र समृद्ध, आधुनिक, सुरक्षित र व्यवस्थित नगर निर्माण हुन सक्ने कुरामा विश्वास गर्दछ र अन्तरसम्बन्धित पक्षहरुबाट समेत सोही किसिमको अपेक्षा राख्ने कुरा जानकारी गराइन्छ ।
राम कुमार थापा
नगर प्रमुख
बोधार्थः
श्री इन्टरनेट सेवा प्रदायक संस्थाहरु (दमक क्षेत्रभित्रका सबै)
श्री सम्बन्धित सरोकारवालाहरु, सबै ।
